ऐतिहाँसिक धरोहर आलामथान(आलामदेवि )

पृष्ठभूमि
नेपालको विस्तृत ईतिहास अध्ययन गर्न तत्कालीन शाह वंशको अध्ययन गर्नै पर्ने हुन्छ । हाम्रो देशले विक्रमको छैटौं शताब्दी पूर्वकालदेखी यता अविच्छिन्न रूपमा रही आएको छ । यहाँ गोपाल, महिषपाल, किराँत, लिच्छवी, मल्ल, सिंरारवल मल्ल, सिमरौनगढ, वाईसी, चौविसी, सेन र हाल शाह वंशको शासन रही आएको पाइन्छ । नेपालको भौगलिक एकीकरण हुनु पूर्व वाइसी, चौविसी, मल्ल र सेन वंशका राजा नेपालको विभिन्न स्थानमा भुरेटाकुरे राज्यहरुमा राज्य गरी आएका थिए । त्यसै अवस्थमा गण्डकी क्षेत्रमा आँधिखोला उपत्याका वारपर आठ टिकी राज्यहरुको पनि स्थापना भईसकेको थियो । त्यस्ता आठटीकी राज्यहरूमा क्रमशः भीरकोट, गह्रौँकोट, सतहुँकोट, ढोरकोट, नुवाकोट, कास्की लमजुङ र गोरखा पर्दथे । ती आठवटै राज्यका राजाहरुकी कुलदेवी आलमदेवी हुन् उनैको आराधानबाट राज्यश्री वृद्धि भएको हो पाईन्छ ।
नेपालमा लामो समयसम्म राजकाज चलाएको शाहवंशसँग जोडिएको यस आलमदेवीको अध्ययनले भौगालिक रुपमा एकीकरण हुनु पुर्व नेपालको बारेमा अध्ययन गर्न ढोका खोल्ने तथा नेपालको तत्कालीन शाहवंशको बारेमा धेरै तथ्यहरु प्राप्त गर्न सकिने भएकोले स्याङ्जा जिल्लाको आलमदेवी गाविसमा अवस्थित आलमथान(मन्दिर)को स्थलगत अध्ययन गरी यो प्रतिवेदन तयार पारीएको छ ।
ऐतिहाँसिक तथा धार्मिक महत्व
स्याङ्जा जिल्लाको सदरमुकामबाट करिब ३५ माइल पश्चिम–दक्षिण गा.वि.स. आलमदेवीको लसर्घा डाँडामा आलमदेवीको मन्दिर अवस्थित छ । अलम शब्दले पूर्ण या पर्याप्त भन्ने निर्देश गर्दछ । त्यसबाट अलमदेवीको अर्थ पूर्णादेवी वा गौरोदेवीको प्रत्याभूति दिलाउँछ । वर्तमानकालमा आलम्देवीलाई नै आलमदेवी भनिएको छ । आलाम शब्द फारसी र उर्दू जस्तो लागेपनि उर्दूसँग र मुसलमानसँग यसको सम्बन्ध देखिएको छैन । नेपाली समाजमा त्यसको गहिरो प्रभाव रहेको छ । त्यहाँका स्थानीय मगर बुढापाकाका अनुसार लसर्घाको डाँडोमा आलामदेवी अलप भएपछि अलपदेवी भन्दा भन्दै अपभ्रंश भई आलमदेवी नाम रहेको बाताउँछन् ।
इतिहास शिरोमिण बाबुराम आचार्यका अनुसार भारतको चितौढबाट आएर जैन खानले पहिलो अल्पकालिक बास जमाएको देखिन्छ । सुर्य खानको मुत्यु पछि उनका जेठा छोरा खिलुङ्ग छोडेर खिलुङ्गदेखि पूर्वपट्टी भिरकोटमा र कान्छा मिन्चाले हालको स्याङ्जा जिल्लाको नुवाकोटमा राज्य कायम गरेर बसे । आलमदेवीको उत्पत्तिको सम्बन्धमा अनेकौं मान्यताहरु छन्, सबै मान्यतालाई बैज्ञानिक र तथ्य पूर्ण मान्न सकिन्न । आलमदेवीको उत्पत्तिको सम्बन्धका केही मान्यताहरु तल उल्लेख गरिएको छ ।
परापूवै कालमा चितौरगढमा नेपालका तत्कालीन राजखलकका पूर्खालाई देवीले सपनामा मलाई जमीनमा नछुवाई नेपाल तिर लैजानु, नेपालमा तिमीलाई राज्य प्राप्त हुनेछ भनिछन् । आफ्नो कूलदेवीको वाणीलाई मनन गरी देवीलाई डोलामा बोकेर दुई दाजुभाई नेपाल तिर आउँदा रिडीमा आईपुगेछन् । (रिडिको पनि आफ्नै छुट्टै ऐतिहासिक तथा धार्मिक महत्व रहेको पाईन्छ, खाम मगर भाषामा ‘रि’ भनेको पानी र ढूट मगर भाषामा ‘डी’को अर्थ पनि पानी भन्ने हुन्छ, यस अर्थ अठार मगराँत र बाह्रमगरातको सिमाना छुट्याउने पानीलाई रिडी भनिएको हो, यसको हिन्दूधर्ममा छुट्टै पहिचान छ ।) ती दुई मध्ये एक भाईलाई प्यास लागेछ । प्यास मेटाउन नजिकैको घरमा पानी पिउन मागेछन् । घरधनिले दिएको पानीमा रक्सीको गन्द आएकोले शंका लागि सोधपुछ गर्दा उक्त पानी रक्सी पार्दा प्रयोग गरिएकोले रक्सी परेको हुन सक्ने घरधनिले बताएछन् । पानी पिउने भाईले आफूले पिएको पानीमा रक्सी परेको भन्ने निश्चयमा पुगे र यो कुरा अर्को भाईलाई पनि बताए । त्यहाँबाट उनीहरु देवीलाई लिएर काली गण्डकी पार गर्न हिडे तर रिडीघाट तर्न लाग्दा रक्सी मिसिएको पानी खाने भाईलाई सञ्चो भएन । उनी हिड्नै नसक्ने भए । यसरी उनीहरु काली गण्डकी तर्न सकेनन । त्यसपछि ज्योतिषिसँग हेराउँदा उनले ‘ओघ्या’ लागेको बताएछन् । ज्योतिषले ‘ओघ्या’लाई च्वाचे(सुँगुर)ले पूजा गर्नु पर्छ तब मात्र माझीले सबैलाई नदि तार्न सक्छ भनेपछि च्वाँचे ल्याई पूजा गरियो । पूजा गरे नि बल्ल उनीहरुलाई माझिले कालीगण्डकी तार्न सके । यसरी च्वाँचेको भोग चढाएपछि त्यसको प्रसाद समेत खाएकोले एक भाई अर्थात् रक्सी पारेको पानी पिउने बिटिलो भए । सपनामा देवीले उनलाई तिम्रो जनै ढुँगामा चढाउनु भनेकाले उनले आफ्नो जनै ढुंगामा चढाए । जनश्रुति अनुसार जनै चढाइएको ढुँगालाई हिरा ढुंगा भनिएको पाइन्छ । उक्त ढुँगा अद्यावधि काली गण्डकीको किनारमा रिडी नजिकै रहेको छ । यसरी जनै ढुँगामा समेत चढाएपछि एक भाइको जात तल खस्कियो र जात मासियो । यसरी जात मासिएकोले उनी मास्की रानामगर हुन पुगे । आउँदै गर्दा वर्तमान आलमदेवीको मन्दिर रहेको स्थानमा रात प¥यो र बास बसे । देवीलाई भुईमा राख्नु हुँदैन भन्ने मान्यता अनुरुप त्यहि रहेको भीसेन पातिको रुखमा देवीलाई अढ्याएर उनीहरुमा त्यहि रुख मुनि सुते । भोलिपल्ट बिहान निन्द्रबाट व्युझेपछि उनीहरुले देवीलाई देखेनन् देवी त्यही अलप भएको उनीहरुले थाहा पाए । देवी अड्याएको भीमसेन पातिको रुख मुनि एक ठूलो प्वाल समेत परेको थियो, त्यो प्वाल अहिले पनि छ । र भीमसेन पातिको रुप नि छ । देवी अलप भएको ठाउँ अझै पनि एउटा प्वाल फेला पर्दछ । जुन प्वाल काली गण्डकी नदी उत्तरपट्टी गौरीघाटसम्म पुगेको विश्वास गरिन्छ ।गौरी घाटमा मध्यान्नमा शंख बजेको आवाज आउने गर्दछ भन्ने बुढापाकाहरुको भनाई छ । देवी अलप भएको प्वालमा कान थापेर सुन्दा नदि बेहेको आवाज सुनिन्छ । किवंदन्ति अनुसार यो वि.स. १५५०–६० तिरको घटना हो । यसरी आफूँहरुले बोकेर ल्याएकी देवी अचानक अलाप भएकीले ती दुई भाईलाई गम्भीर समस्या आई लाग्यो तर राती निन्द्रमा देवीले एक भाई यही बास र मेरो पूजाआजा गर अर्को भाई जहाँ जान्छौ त्यहाँसम्म तिम्रो राज हुन्छ भनेकीले जातबाट तल खेसेका भाई त्यही देवीको पूजा सम्भार गरी बसे उनैका ब्रशजबाट नै हालसम्म देवी पूजा आजा गर्ने चलन छ । यिनीहरुलाई मास्की रानामगर भनिन्छ । यसरी देवी अलप भएको हुनाले शाहवंशीक कुल देवी कालान्तरमा अलाप देवीबाट अपभ्रंश भई आलदेवी हुन पुगिन । चितौढका शेष रहेका रानी राजकुमारीहरु तातो तेलमा हामफालेर मरेपछि लडाईबाट भागी बाँकी रहेका र भाईमा जेठा उदयबम र कान्छा विक्रम भागेर त्रिकुट पर्वतमा गएर राज्य गरे । जेठा चितौडदेखि पश्चिम ३० कोष टाढा उदयपुरमा गएर राज्य गरे । त्यहाँ पनि पवनका वादशाहको डर हुने हुँदा त्यहाँबाट भागेर उत्तरतिर लाग्ने विचार गरे राती सपनीमा आफ्नी इष्ट देवीले “मलाई साथैमा लिएर जाउ जहाँ राख्दा मलाई तिमीले उठाउने सक्ने छैनौं त्यही नै तिम्रो राज्य रहनेछ ।” भनिन् । त्यहाँबाट इष्टदेवीको वाणी अनुसार उदयपुरबाट हिँडेपछि धेरै दिनमा काली तरेर माथि निक्लए । थकाई र तिर्खाले आतिएको बेलामा त्यही डाँडामा ठूलो चपेटो ढुंगामा अडेस लागेर दुईभाई बसे । उठेर हिड्ने विचार गर्दा भुईमा रहेकी देवीलाई उठाउने कैयन प्रयास गर्दा पनि उठाउन सकेनछन् । त्यसपछि एक भाई त्यहि घरजम गरी देवीको नित्य पूजा चलाई बसे । अर्को भाईले त्यहाँबाट चापकोट माथिको धुकोटका राजा रत्नसिंहसँग लडाई गर्न जाँदा रन्त सिंहले आफ्नो छोरी र वस्त्र सहित भिर्कोट र खिलु दुई गाउँ समेत दिएनछ् । उनले त्यहि राज्य गरी बसे । धुर्कोटका राजका राजकुमारी तर्फबाट उनका छोरा अजिल जन्मिए । उनका विवाह अयोध्याका बादशाहकी छोरी लीलावतीसँग भयो र बादशाहले “राय” पदवी दिएको किंवदन्तीमा पाइन्छ ।
“आलम” शब्द झट्ट हेर्दा उर्दू जस्तो लागे तापनि यो शब्द उर्दू भने होइन भन्ने कुरा माथि नै प्रकाश पारी सकिएको छ । आलम शब्दलाई कतिपयले उर्दू शब्द र खानलाई मुस्लीम जाति भनेका छन् तर यस भनाईमा सत्यता पाइदैन् । किन भने खाँन मगर, गुरूङ सबै जातिमा पाइने थर हो । मगरहरुको खाले खाँन, राना खाँन त्यस्तै गुरुङमा पनि घले खाँन पाइने गरिन्छ ।
आल शब्दले झण्डा÷ध्वजालाई जनाउँछ । मगरहरुले झण्डा÷ध्वजालाई आलङ भन्दछन् । आलङ मगर भाषाको शब्द हो जसले झण्डालाई आलङ भनिने प्रमाणित गर्दछ । आलमदेवीमा पनि पुराना ध्वजा पताका र झण्डाहरु छन् । कोत घरमा यस्ता सामग्रीहरु सुरक्षित साथ राखिएको छ । कसैकसैले तिनै झणड, ध्वजा पताहरुका कारण देवीको नाम आलङ भन्दा भन्दै आलमदेवी भएको अनुमान लगाइको छन् । मगरहरुले आलङ, आलङ भन्दा भन्दै आलमदेवी बन्न पुगेको मान्याता पनि छ ।
परापूर्वकालमा चितौरगढमा महाराजकी कुलदेवीले समापनामा भनिन् “मलाई जमीनमा नराखी उत्तरखण्ड पहाडतिर लैजाऊ, यहाँको तखत उड्नेछ, पहाडमा राज्य हुनेछ ।”  महाराजले समपना बिर्से । कालक्रमले मुसलमानी आक्रमण भई चितौरगढ ध्वस्त भयो । महाराजाका दुई भाई उनै कुलदेवीलाई बोकी पहाडतिर लाग्न बाध्य भए । धर्म, संस्कृति, परम्परा, लोककल्याणलाई मूल्मन्त्र मान्ने ती राजपुत्रका साथ बचेखुचेका मानिसले पछ्याए । चितौरगढबाट हिडेकाहरुले रातसाँझ नभनी पहाड चढे पहिले नारायणी नदी किनार त्रिवेणी पुगेर पनि सुरक्षित ठानेन । त्यहाँबाट देवघाट हुँदै काली गण्डकीको किनारै किनार रिडीघाट पुगे । त्यहाँ वसोबास गर्ने चिन्तन गर्दा प्यास लागी नजिकको घरमा पानी मागी खान खोज्दा घरधनीले तातो पानी खान दिइन् । त्यसरी पानी पिउने भाईलाई सपनामा ‘मदिरा तयार पारेको भाँडा माथिको पानी दिएकोले यज्ञोपवित झिकी हिराढुङ्गामा राख्नु भन्ने कुलदेवीको आदेश भयो । ती जनै झिकिएको भाई रानामगर कहलिए भने हिराढुङ्गा उनीहरुको हिरा राना ढुङ्गा रिडि मूलथलो भयो । उनीहरुलाई मास्की रानमगर भन्न थालियो । कुलदेवी उनी मास्की रानामगरसाथ बस्ने थालिन् । ती दुईभाई रिडिघाट तरी पूर्व कारीकोट पुगे । कारीकोटमा कार्की थर भएका पहाडी खस राजा थिए । ती कार्की राजा अलोकप्रिय हुनुको कारण रैतिका शोलीडोली खोसी अधिकार गरी भोलिपल्ट फिर्ता गर्ने गर्थे ।
कार्कीकोटका राजाको नियत बुझी दुई भाई मध्ये जेठाले नारीको श्रृङ्गार गरी डोलीमा सजिएर बरियाँतको बहानामा कारिकोट पुगे । कारीकोट काकी राजाले पूर्ववत् डोीमाथि अधिकारी गरी सो डोलीमा रहेको दुलहीलाई आफ्नो खोपीमा लगी ब्यभिचार गर्ने उद्देश्यले पर्दा खोल्दा  त हतियारसाथ रहेको जेठा राजपुतले उनलाई मारे ।
जेठा राजपुतले कार्की राजाल्ई मारेपछि, कार्कीकोट नामको राज्य हातपारी दुवैभाई यौग्य बस्तीको खोजी गर्दै लसर्घा भन्ने ठाउँमा पुगे । त्यहाँ विश्राम गर्दा कान्छा भाईले बोकेको कुलदेवीलाई सिम्ठारा, (घुर्सेली=भीमसेनपाती) को स्याउला माथि राखे । राती त्यहीं बसेर भोलि पल्ट नहुँदै मिर्मिरे उज्याले हुनेबेलामा कान्छा भाइले कुलदेवीलाई छुन खोज्दा ठूलो आवाज आयो र कुलदेवी राखेको ठाउँमा चौगिर्दा खाल्टो प¥यो र देवी त्यही अलप भइन् । आफ्नी राजस्थानदेवी ल्याएकी कुलकी देवी अलप भएकीले दुवै भाई अलाप विलाप गरी रून थाले । भोलिपल्ट निन्द्रामा सपना हुँदो “तिमीहरु पिर गर्नु पर्दैन, मेरो अस्थान यहीँ नै हुनेछ, तिमीले राज गर्नु भाईले मेरो सेवा गर्नु” भन्ने वाणी भएको हुँदा देवीको नाम अस्थानको नाम ‘अलपदेवी’ भयो । त्यही अलपदेवीको आधारमा आलमदेवी नामाकरण भएको कुराको प्रकाशा आएको छ ।
उपयुक्त वर्णनमा के कत्ति सत्य छ र त्यो कहिले घट्यो भन्ने परीक्षण इतिहासमा गर्न बाँकी छ । डोटी जिल्लाको पूर्वीछmे चौखुट्टेलेक पश्चिमोत्तरु फेदीमा पर्ने काँडामालिका गाविसको पाँडा गाउँ र पूलोट गाउँमा प्राप्त वंशावलीमा यस प्रकार लेखेको छ ः “उर्सितका २ पुत्र जेठा उतथे भरत कान्छा वृहस्पती, जेठा भारद्धाज भया। येह ी वंशमा भारद्धाजका ५ पुत्र गर्गस्मेत ३ भाई ब्रह्मकुलमा रह्या। मैल। सैंल २ राजकुलमा रह्या– भारद्धाजगोत्रिया ब्राह्मण। रजपुत। षस। मगरको वंशावली…………
रिषिराज भट्ट, सिवा भट्ट, दाभा भट्ट, स्यामा भट्ट, गोवद्र्धन भट्ट, हरी भट्ट, निधि भट्ट, भाष्कर भट्ट, तिलाकासि भट्ट, नागजाल भट्ट देउसर्भ भट्ट, अयत्ब्रह्म, कनक बह्म, जस ब्रह्म, औदम्वराय, भट=चितौलीजाई रजाइपाया, विक्रमजित् राजा, जिल्लाराजा, अजिल्लाराजा, अटल राजय, तुथा राय, इमिक राय, हरिराय, ब्रह्मराय, इन्कादाजी विसुन्दास् चितौडछोडी अजुध्या आया. यन्का ४ पुत्र. जेठा देउरा। माहिला सिउराय, साहिला भैराय, कांछा अभैराय. देउरायका निरौला, सुव्याडी, वाकल्या, देउकोटाहरु इनैबाट षस्याका बोहरा। बुढा। अजुध्या। छोडी डोटी आया. पछि येती घर भया. सिउरायको संतांन् स्युराजीबोहरा भया. भैरायका संतान् कडांगी राउत् भया. इतिदुइर्भा वर्ततैमा चढ्या. अभैरायका संतान् पर्वतैमा आदिषोलातिर गया. मगराना भयाका छन्.”
उपयुक्त वंशावलीले भारद्धाजगोत्रका थरहरुको उत्पत्तिका बारेमा रेखाङ्कन गर्न मद्धत पु¥याएको छ । त्यसबाट नेपालमा विभिन्न समयमा विभिन्न थर बनेका र बसोबास गरेको कुरा बुझिन्छ । त्यसबाट अर्को कुरा पनि आयो कि रानामगरहरु भारद्धाज गोत्रिय खस भएको भन्ने । मगर बन्नुको आधार मदिरा (मद्य) निर्माण गर्दा ध्याम्पो माथि राखेको उष्णजल पिएको कुालाई नै लिएको छ । सपनामा देवीद्धारा आकाशवाणी हुन, जनै फ्याक्नु, देवीका पूजारी बन्नु, लसर्घामा देवी लोप वा अलप हुनु, देवी त्यँही बस्नु चहानाु, कान्छा भाई मास्की राना हुनु र पुजारी बस्नु, जेठाले राना हुनु जस्तो विश्वासमा रहनु यस घटनाका मूल बुँदाहरु हुन् । त्यसै घटनासँग सम्बन्धीत कारिकोटे राजको अन्याय र अत्याचारलाई बुद्धिमानीपूर्वक समाधान गरी लसर्घा पुगेको कुरा प्रशङ्गको अर्को पाटो मान्न सकिन्छ ।
आलमदेवी कसकी कुलदेवी हुन् भन्ने उक्त वर्णनबाट खुल्दैन । चितौरगढबाट आउने दाजुभाई को को थिए भन्ने पनि अन्यौल नै रहेको कछ । शाहवंशको वंशावलीमा चितौरगढाबाट पहाड पस्ने भूपाल राणाजीराव थिए भन्ने कुरा खुलेको छ । उनै भूपालका भाई को हुन् त्यो कुरा त्यहाँबाट खुल्दैन । कास्की जिल्ला चिलमडाँडा निवासी बलबहादुर मास्की रानामगरको भनाई अनुसार वि.स. २०२२ सालमा योगी नरहरीनाथ र धनबज्र बज्राचार्यले मास्की रानामगरको वंशावी र राजीवलोचन पराजुलीको कविता साथ सक्कल कागज लिई गएको तर प्रकाशित नभएको फिर्ता पनि नगरको भन्ने थाहा पाइएको छ ।
त्यसरी मास्की रानामगरको वंशावली प्रकाशमा आउन अनिश्चित भयो । निज बलबहादुर रानामगरसँग वि.स. २०४१ को साक्षात्कारबाट प्राप्त जानकारी अनुसार निजका पुर्खा आलमदेवीबाट वि.स. १५०० तिर कुम्भे राना (कुमभैरब रानामगर) कास्की आएका हुन् । कुम्भे रानाका बाबुको नाम थाहा नभएको निजले बताए । कुम्भे राना कास्की आएपछि क्रमशः बेलप्रताप, तिखु, खुँडे, बाघसिंह, धनिराज, कालुसिं, न्याम्सेराना, बुलबुले राना, ह्याङजेराना, बखतसिं, बिल्पाते राना, देब्रेरानामगर, ढिस्के, होस्रेराना, गजसिं, खड्गसिं राना, भाष्कर राना र बलबहादुर गरी जम्मा १९ पुस्ताले कास्कीमा बसोबास गरी आएको बताउँछन् ।
माथि वर्णित वंशावलीको प्रसँग ल्याउनुको तात्पर्य के हो भने आलमदेवी लसर्घामा स्थापिन गरेपछि भूपाल राणाजी रावका सन्ततिहरु यत्रतत्र छरिएर आठवटा राज्यहरुको स्थापना गरे, त्यसरी पृथक राज्यको स्थापना गरेर पनि आलमदेवीको नित्यपुजा गरेर मात्र शक्ति प्राप्त हुने भएकोले आलमदेवी अलप भएकीले उनैका प्रतीकलाई गह्रौंकालिका, सतहुँकालिका, ढोरकोट गुप्तकालिका, नुवाकाट कालिका, कास्कीकोट, गुप्तकालिका, लमजुङ तुर्लुङकोटकालिका, गोरखाकाटे गुपगोरखा कालिका स्थापना गराई देवीको पुजारी रानामगरलाई नै ती कोटहरुमा लगिए
को कुरा कास्की गुप्त कालिका देवीका पुजारी बलबहादुर मास्की रानामगरले बताएबाट थाहा भएको हो ।
यसरी आलम देवीको पूजा अर्चनाबाट भूपाल राणाजी रावका सन्ततिहरुमा राज्यश्रीले अटलरुपमा बास गरेको कुरा स्पष्ट हुन जान्छ । देवीको “श्री अम्बिका चत्रिर वंशालीमा” उल्लेख भए अनुसार आलमदेवी पूजा, नित्यपूजाको अधिक, शारदीय नवदुर्गा नवरथा र वाशन्ती नवरथा नियमपूजा, भाकलपूजा चलिआएको छ । त्यही परम्परानुकूल आठवटै शाह राजाहरुका कोटमा पूर्ववत् दशैका नवरथा भर सकारी दरवन्दी तथा भाकलपूजा गर्ने चल यथावत् अद्यापिसम्म रहेको छ । पुरानो व्रशावली हेर्दा शाह राजहरुको पुर्खा काँगडाज्वालाजी क्षेत्र (जालान्धर) बाट पूर्वतिर आउँदा लसर्घामा आलमदेवीको स्थापना साथ साथै शाहराज्यको स्थापना पनि त्यहींबाट गरेको जानकारी पाइन्छ ।
आलमदेवी र शाह वंश
आलमदेवीको नित्य पूजा हरके दिन हुन गर्दछ । यहाँ मगर कुमार पूजारबाट नियमति पूजा हुने गरको छ । दर्शनाथ तथा पूजाको लागि आउने दर्शालुबाट पनि दनहुँ पूजा हुन्छ । स्थान गरेको तथा केही पनि नखाएका पुरुषहरुले मन्दिरको मुख्य भागभन्दा बाहिर ढोकाबाट देवीको पूजा तथा दर्शन गर्दछन् । पूजारीहरु भित्री मुख्य भागमा बसेर पुजा गर्दछन् ।
महिलाहरु रजस्वला भएको बेलामा पनि मन्दिर भित्र पस्न सक्ने भएकाले उनीहरुलाई ढोकाभन्दाभित्र प्रवेश गर्न नदिइएको पूजारीहरु बताउँछन् । मगर पूजारीहरु प्रत्येक दिन विहान सबेरै उठेर स्थान गरी चोखोजल लिएर मन्दिर जान्छन् । देवी अलप भएको स्थानमा गाईको शुद्ध गोवर लिपेर देवीको धुरले आराधान गर्दछन् । देवीलार्य फूल अक्षता प्रसाद चढाइन्छ । बत्ति बालिन्छ र शंख घण्ट बजाइन्छ ।
देवीको नित्यपूजा सकिएपछि दर्शनार्थीले चाढउाने ल्याएका दुध धुम चढाइन्छ । धुप गरिन्छ हातले कोतको बत्तितेल ध्यूमा भिजाएर बालिन्छ । यहाँ पूजा गर्न आउलनेल दुईपट्टि पूरा किनार भएको शुभ कपडाको ध्वाज चढाउने गर्दछ । ध्वाजा रातो, सेना, निलो, पहेलो, हरियो, कालो रंगको हुने गर्दछ । आलमदेवी दर्शनमा आउनेले पूजा पछि अक्षतको टिका र ध्यजा लगाउने गर्दछन् । बोका, भेडा, रागा, कुकखुरा बलि दिनेहरुले रगतमा मुछेको टिका पनि लगाउने गर्दछन् ।
सामान्य अवस्थामा पनि पुजारीहरु १२ बजेसम्म भोकै बस्दछन् । खाएको मान्छे आएमा मन्दिरभित्र प्रवेश दिइदैन । दर्शालुहरु बाँकी भएको खण्डमा भने जति ढिला भएपनि पूजारीले खाना पाउदैनन् । पूजामा आउनेहरुले अक्षता फूल अविर, केशरी जौ तिल चिनी बत्ति अगरबत्ति फलूल दुध हुनेले दुध लिएर आउँछन । घरमा दुहुनो हुनेहरुले अघिल्लोदिन चोखिनिष्टा गरेर गाई भैसी दुही दही जमाउँछन् । यसलाई स्थानीय भाषामा चोखा राखेको भनिन्छ । चोखा राखेको समयमा दुुध खानु हुँदैन । भोलिपल्ट चोखा राखेको दुधलाई महि पारेर नौनी पनि देवीलाई चढाउन ल्याइन्छ । यसैलाई धुप भनिन्छ । देवीलाई दुधधुप चाढउने कार्य कतिपयले भाकल गरेर त कतिपयले भाकलै नगरी पनि गर्दछन् ।
भक्तालुहरुले देवीलाई भाक गरेर उठाएको पैसा पनि चढाउन ल्याउँछन् । जसलाई भेटी भनिन्छ । नियमित पूजाको लागि टाढाको टाढाबाट पनि भक्तालुहरु आउँछन् । कतिपय बलि दिन पनि बोका, भोडा रागा, कुखुरा लिएर आउँछन् भने कतिपय दुध धुप र दुध, धुप नहुनेहर अक्षता पैसा मात्रै लिएपनि पनि आउँछन् । बली लिइने जनावरलार्य पूजारीले नै बली दिनु पर्दछ । कुखुरा बली दिँदा मन्दिर भित्र पूर्वी भागमा दिइन्छ । अन्य जनावरलाई मन्दिरको मुख्यद्धार अगाडि पटि रहेको काठमा किलामा बाँधेर बलि दिइन्छ । रागा बोबा जस्ता जनावरहरु ठूला भएमा र पूजारीले बलि दिन नसकेमा पूजारीले मनाएको अन्य मगर पूजारीबाट बलि दिइन्छ ।
आलमदेवी मन्दिरको स्वरूपः
आफ्नो कुलदेवी आलमदेवीको प्रतीकस्वरुप आ–आफ्नो राज्यको कालिका देवीको स्थापना गराउने श्रेय सूर्यखान वि.स. १५०० भीरकोट राज्य, दशरथखान वि.स. १५०० गह्रौँकोट राज्य, दशरथखान १६२५ ढोरराज्य, भक्ति खान वि.स. १५१० नुवाकोट राज्य, शिरबम्बुखान वि.स. १५१०सतहुँराज्य, विचित्र खान वि.स. १५२० कास्की राज्य, यशोब्रह्म शाह वि.स. १५५० लमुजङ राज्य, द्रव्य शाह वि.स. १६१६ गोर्खा राज्य आदिलाई रहेको छ । उपर्युक्त राज्यका सबै राजाहरुको कुल देवी आलमदेवी हुनाले वर्षको एकपटक आलदेवी पुग्थे र त्यहाँ यथाशक्य दक्षिणा, भेटी, पुजा सरजाम अर्पण गर्दथे । सम्बन्ध त्यसका केही टिपोट भएको कुरा पनि जानकारीमा आएको छन् ।
आलमदेवी को स्थान जैन खानको (दुर्ग) गढ हो भन्ने मानिन्छ । यो न त पराम्परागत मन्दिरहरुको जस्तै तले शैली न त शिखर शैली र न त मिश्रित शैलीको नै छ । आलमदेवी मन्दिर गुह्येश्वरीको स्थान जस्तै पीठ शैलीको छ । चारैतिर पर्खालले घेरिएपनि यसको छानो छैन खुल्ला नै छ । देवी अलप वा पतन भएको मानिने ठाउँमा ज्यादै पुरानो भिमसेन पातिको रुख छ । देवी सँगै यस रुखलाई पनि पूजा गर्ने गरिन्छ । यस्तो उचाईमा भिमसेन पातिको रुख पाइनुलाई स्थानीय बासिन्दाहरु अनोठै मान्दछन् । यस क्षेत्रमा वरीपरी कहि कतै पनि अन्य भिमसेनपातिको रुख छैन ।
बाहिर पर्खालले घेरिएको छ । पर्खाल भित्र मन्दिरको अग्रभागमा एउटा चिटिक्क परेको चौर छ । यही चौरका पूर्व दक्षिण कुनामा लाकुराको बाटे छ । पूर्व भागमै दुई कोठा र बीचमा खाली रहेको एक तल्ले टिको छानो रहेका कोट घर छ । पर्खालको दक्षिण पश्चिमपटि ग्रिलको ढोका छ । यही पर्खालभित्र मन्दिरको दक्षिण भागमा वली दिन मौला छ ।
यो चौरको भित्र पटी अग्लो पर्खाले चारैतिर घेरिएको छ । फराकिला पेटी रहेको यो पर्खालको बारिहपटी काठका किलाहरु गाँडिएका छन् । यी किलामा सर्वसाधारणबाट चढाइएको घण्टहरु झुण्डाइन्छ । घण्टाहरु उत्तर बाहेक तीनै दिशातीर झण्डाइएका छन् । बाहिर पर्खाल भित्र मुख्य भाग बाहिर चारैतिर करिब डेढ मिटर जति जमिन छोडिएको छ । जमिन छोडिएको भागमा ढुंगा विछ्याइएको छ । यसको पश्चिम दक्षिणतिर दुई वटा ढोका छन् । प्लस्टर गरेर ढुंगा ढाँसिएको यो भागबाट करिव डेढ मिटर जति भू–भाग उठाइएको छ । उठाइएको भूमाग पर्खालले घेरिएको छ । मुख्य भागमा पर्खाल दक्षिण, पश्चिम र उत्तर तीन तिर ढोका छ । पूर्वी भागमा ढोका छैन । उठाइएको भागमा भीमसेन पातिको रुख, देवी पतन भएको मानिने ठाउँ र राजा रणबहादुर शाहले चढाएको एक घण्ट छ । घण्टको एक भाग भुईमा गाडिएको छ । संस्कृति विद्हरुले यसलाई खाँडो जागेको भन्दछन् । देवी अलप भएको ठाउँमा आउन सतहबाट तीन वाट सिंढी बनाइएको छ । मुख्य भागमा एउटा चोक छ । वर्गाकार रहेको यस चोको क्षेत्रफल ६५×६५ इन्च छ । आलामदेवी अस्तित्वमा आएदेखि नै यो मन्दिर पीठ शैलीको रहेको पाइन्छ । मन्दिरलाई शुरुमा ढुँगाको पर्खाल चिनेर पीठ आकार दिइएको थियो । आधुनिक अस्तित्वमा कहिले आयो भनेर मिति किटान गर्न नसकिए पनि मन्दिरको यो स्वरुप २०३३ सालपछि आएको हो । वि.स. २०३३ सलामा तत्कालीन राजा विरेन्द्रले एकाउन्न हजार नगद दिएका थिए । उक्त प्राप्त रकम र स्थानी बासिन्दको जनश्रमदान तथा सामग्री सहयोगबाट मन्दिरको आधुनिक स्वरुप निर्माण गरिएको छ ।
आलमदेवी मन्दिरको वरपरको पर्खाल बाहिरपट्टी काठमो खाँमा गाडिएका छन् । र ती खाँमामा घण्ट झुण्ड्याएका छन् । उत्तरतिर झुण्ड्याइएको छैनन्, अरुदिशातिर घण्ट झुण्डयाइएका छन् । नित्य पुजा हुने आलमदेवीमा मगर कुमार पुजारी भिभी खण्डमा बसेर पूजा गर्छन् । अरुलाई पेटी बाहिर, नारीहरुले मन्दिरको बाहिरी ढोका छेउबाट मात्र दर्शन गर्न पाउँछन् । नारीहरु रजावस्थामा पनि रहेन हुँदा प्रवेश निषेध गरको भन्ने कुरा पूजारीबाट बुझिन्छ । नियमति पूजा पछिमात्र भाकल पूजा हुन्छ र पञ्चोपचार विधिबाट देवीको पूजा गरिन्छ । आलमदेवी मन्दिरमा पूजा गर्न जानेले आलन (टागोमा कपडा लटकाएको) साथ जानु पर्दछ । आलनको कपडा रंगीन हुन्छ र कुनै त सप्तरंगी पनि हुन्छन् । बली पूजा समापन पछि रगतमा मुछेका अक्षता लगाइन्छ । बली नदिनेल अक्षता लगाउँछन् ।
नित्यपूजा मात्र पर्द मध्यान्ह र भाकल आएमा दिनभरी नै पूजारी निराहार बस्नुपर्छ । बलि काट्न पूजारीबाहेक अरुले पाईदैन । यदि पुजारी व्यस्त भए निजले खटाउको मगरले बलि काट्छन् । पूजारीहरुलाई गुठीबाट जीविका चल्छ र पूजा सरजाप दक्षिण पनि पूजारीलाई मिल्छ । भाकल वलिका टाउकाको हक पनि पूजारीको हुन्छ र उनैले चाहे अरुलार्य दिन सक्छन् । गुठीका सम्बन्धमा वि.स. १८४३ मा जीव शाहले अर्पण गरेको नगराभित्रलेखमा १५० मुरी खेल परापूर्वकालबाट थमौती गरिदिएका छन् भने  वि.स. १८५७ पुष ४ रोज ७ मा भएको श्रीको रुक्का लालमोहर गरी त्यसलाई पाको पारिएको छ । उक्त रुक्काले १०० मुरी मध्ये ३०÷२० मुरी नगरालाई पृथक गरी बाँकी पूजारीलाई छुट्याइएको पाइन्छ । पर्वपूजा वडादशैमा जमरी राख्ने, न्वागी पूजामा हवन गर्ने, चैतेदशैंमा पूजाका सामान फूल प्रसाद राजदरवार पठाउने परम्परा रहेको आलमदेवीमा होम आदि अग्निस्थापना विधि गर्ने ब्राह्मण पण्डितहरु बोलाईन्छन् । पण्डितबाट चोखा ४ जना मास्की रानामगर कुमार पूजारी छान्ने काम हुन्छ । कुमार, विवाहित स्वाजातीय स्त्रीबाट जन्मेका, विवाह नगरेका, स्वप्नदोष नभएको, निषठमा बसेको, १२ भाई पुजेरी घर भित्रैका हुनु पर्दछ ।
आलमदेवी लसर्घामा पुजारीले १ माना चालम अक्षता चढाउनु पर्दछ । पूजारीले चोखा लगौटी कछाड र रुपमाले मात्र लगाउन पाउँछन् । हालसम्म ३२ पुस्ताका पुजारीहरुले शाह राजहरुका कुलदेव्को पूजा गरी परम्परा थामी आईरहको छन् । विस. १९०९ मा कर्णल खण्डबहादुर कुँवर राणाजीको पत्रमा लसर्घा आलमदेवीको गुठीयारबाट रैरक नउठाउने आदेश, गादिमुवारक उठाउने र गह्रौं तर्फका गुठी जाँच गर्ने हवल्दार हस्तदल शाही र चन्द्रवी बोगटीका नाउँमा जारी गरेका छन् । वि.स. १९४४ मा कम्याण्डर कणेल तेजबहादुर राणाले पनि सोही आशयको पत्र आलमदेवीका पूजारीलाई गरेका छन् । केही वर्ष यता आलमदेवीमा पूजा सञ्चालन गर्ने समिति गठन भएको छ ।
आलामदेवीको जमिन भित्र रकेको प्वालमा कान थापेर सुन्दा पवित्र काली गण्डकीको “स्वाँ…….” आवाजको साथै “दङदङ” आवाज सुन्न सकिन्छ । पहिलेदेखि वडादशैं, न्वागी र चैतै दशैंका पर्वमा उक्त प्वालबाट मध्यरातमा रातो ज्वाला निस्केर मानसरोवर कैलाशतिर लाग्दा लाग्दै लोप हुन्छ । पछि उतैतिरबाट ज्वाला फर्की प्वालभित्र प्रवेश गर्छ । भनिन्छ ढोरबाराहीको लहरी चल्दा पनि आलमदेवीबाट ज्वाला निस्कने हुनाले दुवै देवीको बीचमा भूगर्भमा सम्बन्ध रहेको पनि बताइन्छ । अलामदेव्को विशेषतामा इच्छित फलदिने शक्ति हुनाले धेरै भाकल पूजा हुन्छ । भूपनि राणाजी रावका जीवनकालबाट आजसम्म आलमदेवीमा अटुट पूजाचली आएको छ । भनिन्छ, बाजाजाई बढाइर्ए गर्नेहरु, शान लाउनेहरु आर्वाजो बजाउनेहरु, पाठगर्ने पण्डितहरु पनि भूपनि राणाजीरावका साथ त्यहाँ आएको र त्यतैबाट विभिन्न ठाउँमा वितरित भएको थिए । चितौरगणमा बजाइने बाजाको नमूना पनि त्यहाँ छन् र पछि निर्मित बाजा पनि अद्यापि सुरक्षित छन् । तर मूल खड्ग भीरकोटे राजाको जेठो घरमा हुनाले आठटीकी राज्यले भीरकोटे राजालाई जेठो घर मान्दथे । नेपालको एकीकरण पछि पनि भीरकोटो राजालाई नै जेठा भनिदै आएको पाइन्छ ।
निष्कर्ष तथा सुझाव
चन्द ठकुरीका कुदलेवता उदयदेव, सिंह ठकुरीका ढँढारमष्टा, कल्याक ठकुरीका कनका सुन्दरी, मल्लहरको कुलदेवी डिग्रेदेवी, सल्यानी शाहीकी खैरावाङ, दङाली राजाकी बागेश्वरी, अछामी ठकुरीकी पोडशादेवी, पर्वते मल्लकी वाग्लूङ कालिका, सेन ठकुरीकी कुलदेवी कालीदेवी भएझौ पालहरुको कुलदेवी मण्डलादेवी मानी आएका छन् । भूपिन राणजीराजका पूर्वजहरुले आलम देवीलाई कुलदेवी मान्दथे र उनका सन्ततीहरुले लसर्घामा ल्याएर आलमदेवीको स्थापना गरेर आठटछीकी शाह राज्यह रुको स्थापना गरे । शाहवंशीय राजखलकका खान ठकुरीहरुको कुलदेवी  उनै आलमदेवी हुन् । चितौरगढ राज्यका तत्कालिन राज्या भूपनि राणाजीराव र उनका छोरा फक्तेसिंहसँग सोझौ सम्बन्ध भएको भूपाल राणाजी रावले पहाड हिमा तिर प्रवेश गर्दा साथमा लिई आएकी कुलदेवीको नाम नै आलमदेवी हो । अतः उनका सम्पूर्ण सन्ततीहरुकी कुलदेवी भन्नु नै आलामदेवी हुन् । उनीहरुको भारद्धा गोत्रीय राजपुन हुन् ।
वर्तमान नेपाल अधिराज्यको महाराजाधिराजका पूर्वजहरुलाई आठटिका शाह घराना भनिन्थ्यो । ती आठवटै राज्यका राजाकी कुलदेवी उनै आलामदेवी हुन् र जसको अस्थान वा पीठ स्याङ्जा लसर्घा कोटमा रहेको छ । नेपालको एकीकरण पूर्व स्वतन्त्र रही आएका भीरकोट, ढोर, सतहुँ, गह्रौ, नुवाकोट, कास्की, लमजुङ र गोरखा जस्ता राज्यका राजाहरुले आलम देवीलार्य कुलदेवी मानेर बार्षिक भ्रमण गर्दथे । उनको नित्यपूजा गर्नका निम्ति र राज्यशक्ति बलियो पार्नका निम्ति आपँफू मुकाम गरेको कोटकिलल्ला, दरवार प्राङ्गणमा कालिका, गुप्तकालिका देवीको स्थापना गरी आएका थिए । नेपालको एकीकरणपछि पनि नेपाल सरकारले ती सबैकोटमा स्थापित कालिका देवीको पूजा अर्चनार्थ सरकारी दरवन्दी कायम गरी गुठी थमौतीको लागि र नित्य नैमित्कि पर्वपूजाको दरबन्दी खुलाई बाजागाजा, लिपपोत, सवारी बलि तथा समिधाको बन्दोवस्त मिलाएको पत्र लालमोहर गराएको प्रमाणहरु प्राप्त भएको छन् । विघाफँटमा विघाका विघा(विग्राहा) जमिन समथररुपमा रहेको छ । लसर्घाबाट उत्तरतर्फका कालीनदी र आँधिखोलाको दोभान छेऊ विघा गाउँ पर्दछ । लसर्घासँगै आवद्ध विर्घाफँट पनि ऐतिहासिक क्षेत्रमा भएको बुझिन्छ । हाल आलमदेवीको अधिकांश पूजा सामग्रीको आपूर्ति विर्घा क्षेत्रबाट भईआएको छ । आलमदेवी लसर्घाको शोभा विर्घा नै हो आलमदेवीको गुठी जमिन मिर्मीफाँटमा पनि पर्दछ । नेपालको एकीकरण पछि पनि आलम देवीको पूजा र पूजारीलाई सद्भाव र मर्यादा कायम गरी आएके पाइन्छ । कुमार कालसम्म मात्र पुजारी रहने क्रम प्राप्त हुन नसकेपनि एकीकरणपछि ३२ जना पुजारी रहेको सूची प्राप्त भएको छ । उक्त सूची अनुसार गणपति रानामगर, लुद्रवीर, परमानन्द, उजीरसिं, चन्दंसि, खड्डबहादुुर, हीरासिंह, सर्वजीत, भागीरथ, इन्द्रसिं, दलबहादुर, गोपि, जगबहादुर, लतलाचन, पूर्णबहादुर, झमानसिं, जीतबहादुर, निरराम, मोहनसिं, विष्णु, नलीराम, ज्ञानबहादुर, लेखबहादुर, हीरासिं, भीमबहादुर, मुक्तीबहादुर, शेरबहादुर, भक्तबहादुर, टोपबहादुर, ओमबहादुर, कुमार र मिलन रानामगर रहेका छन् । त्यो क्रम अगाडि बढिरहेको छ ।
आलमदेवी लसर्घा शाह, शाही, खाँडहरुको कुलदेवी स्थान मान नरही वर्तमान नेपालको ईतिहासको धरोहर बोकेको महत्वपूर्ण स्थल पनि हो । यसको सम्बन्ध चितौरगढ मात्र नभई प्राचित श्वेतहुँण जाति, घोडचढी सम्यताको संकेत बोकेको प्रशिद्ध विजेता तोर मानसम्म पुग्दछ । समस्त खसहरुको नाता बोकेको नेपाली जातीको त्रिवेणी सम्यता खस, मगर र किरातको केन्द्रस्थलको अस्तित्व बोकेको ठाउँ पनि आलमदेवी लसर्घा हो । वर्तमान नेपालको इतिहासका लेखकहरु गोर्खा राज्यका संस्थापक द्रव्य शाहसम्म मात्र पुग्न सकेको छन् भने त्यसपूर्वको इतिहास अँध्यारोमै रहेको छ । वर्तमान शाहवंशीय राजाहरुको पुख्यौलि राज्यहरुको आठटीकी शाह भनिन्छ । त्यसपूर्वको कुरा आलम देवी लसर्घाको अध्ययनबाट खुल्दछ । त्यसकारण विद्धान, सरकार, चलचित्रकर्मी तथा स्वतन्त्र अध्येताहरुको धानाकर्षण उनी कुलदेवीको पाउतिर मोडिनु पर्ने आग्रह गरिन्छ ।
सन्दर्भ सामग्रीहरु
सुवेदी राजाराम, आठ टीकाको इतिहास, काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान २०६१ ।
श्रीसमगर मीन, मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरु: मगर अध्ययन केन्द्र, प्रथम जेष्ठ २०६८ ।
पाण्डेय  टोकराज, आलमदेवी एक ऐतिहासिक अध्ययन काठमाडौंः इतिहास केन्द्रीय विभाग त्रि.वि शोधपत्र २०६०, पृष्ठ ५१–८३ ।
थापामगर प्रदीप, शाहवंशीय राजखलक र मगरहरु भाग १, काठमाडौं: जिल्ला मेमोरियल फाउण्डेशन, २०५६ ।
क्षेत्री नारायणप्रसाद, आलमदेवी र शाहवंश, स्याङ्जा: जिल्ल पंचायत, स्याङजा  २०३५ ।
आलमदेवी स्मारिका, प्रवेशाङ्क: युवा जागरण समूह, बीरघा, स्याङ्जा २०६२ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *