अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि

सधै सबैसँग मिठो बोल्ने र हँसिलो मुहारमा रम्ने नेपाली मुलका अस्ट्रेलियन वैज्ञानिक डा. राजु अधिकारीलाई जो कोहीले पनि जान्न र बुझ्न हम्मेहम्मे पर्छ।

अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफीक इन्ड्रस्ट्रीयल रिसर्च अर्गनाइजेशन (सीएसआईआरओ) का वैज्ञानिक अधिकारीले २८ वर्षदेखि आफ्नो ज्ञान र सिपलाई तिखार्दै अस्ट्रेलियाको पोलिमर प्रविधिमा आफ्नो दक्षता प्रमाणित गरिसकेका छन्।

जो कोहीसँग पनि मुसुक्क हाँस्ने र सम्बन्ध गाँस्न रूचाउने डा. राजु सहजताका खानी नै हुन्। सन् १९९५ देखि सीएसआईआरओमा प्रिन्सीपल रिसर्च साइन्टीष्टको भूमिकामा रहेका डा. राजुले आफूलाई अब्बल साबित गर्दै आएका छन्।

त्यसपछि विभिन्न प्रविधि विकास गर्दै जाने क्रममा हाल डा.राजु सोही  सीएसआईआरओमा मानव विज्ञका रूपमा कार्यरत छन्।

वैज्ञानिक श्रीलंकन डा. पथिराजा गुणतिलक र डा राजु नेतृत्वको टिमले पोलिमर प्रविधि (ईलास्ट-ईन TM) बाट मानव अंग प्रत्यारोप र सेन्थेटिक हार्ट भल्भको आविष्कार गरेर यसको सफल परीक्षणपछि यो प्रविधिको चर्चा अस्ट्रेलियामा र अमेरिकामा एकाएक चुलियो।

यो टिमले अस्ट्रेलियामा उत्पादन गरेको प्रविधिको अधिकार अमेरिकन कम्पनीलाई बेचेको छ।

ईलास्ट-ईन टेक्नोलोजी अब पेसमेकर सिसा, क्याथेटर र स्टन्टको कोटीडमा प्रयोग भइरहेको छ।

यो अमेरिकन कम्पनीले सेन्थेटिक हार्ट भल्भको क्लीनीकल ट्रायलको अधिकार प्राप्त गरेर करिब एक दर्जन मानिसामा प्रयोग गरिसकेको छ। प्रयोगबाट सफलतासमेत हात पारिसकेको छ।

यसअघि सुँगुरको भल्भलाई मानिसको मुटुमा प्रयोग गरिँदै आएको थियो। यो प्रविधिमा निकै मात्रामा औषधि सेवन गर्नु पर्थ्यो। तर सेन्थेटिक हार्ट भल्भ मानव अंगसँग मिल्दोजुल्दो र आजीवन टिक्ने भएकाले कम औषधि सेवन गर्नुपर्ने हुनाले यसले राम्रै बजार पाउने देखिन्छ।

त्यसपछि डा. राजु अधिकारी र डा. पथिराजा गुणतिलकको टिमले आविष्कार गरेको पोलिमर प्रविधिको अर्को आविष्कार हो- नोभोजर्व TM ।

पोलिनोभो प्रा.लि.ले ल्याएको यो प्रविधिमा पोलीमोरको प्रयोग गरेर हर्निया रिपेर , जलेको भागमा पोलीमोरको प्रयोगद्धारा छाला बनाउने प्रविधि थिकेनेश वर्न र भाँचिएको ठाउँमा जोड्ने फ्याक्चर फीक्सेसनजस्ता कार्यहरु अगाडि बढाइरहेको छ।

एउटा वैज्ञानिकको नाताले डा.राजु अधिकारीको अथक प्रयासबाट यतिखेर अस्ट्रेलियाले कृषिमा क्रान्ति गर्ने नयाँ प्रविधिको विकास गरेको छ।

‘स्प्रेयबल पोलिमर मल्च’ नामक यो प्रविधि परीक्षण भइसकेर प्रयोगको लागि बजार खोज्दै गरेको अवस्था हो।

कृषिमा खाद्य सुरक्षाको चुनौती भएकाले पोलिमर प्रविधिको विकास गरेर खाद्य सुरक्षा कायम गर्नुका साथै उत्पादन वृद्धि गर्न डा. राजुको टोलीले सफलता हात पारेको छ।

उनीहरूले आविष्कार गरेको नयाँ प्रविधिले माटोलाई लामो समयसम्म वचाव गर्ने र कम मलको प्रयोगमा समेत कृषकले उन्नत फल प्राप्त गर्न सक्नेछन्। माटोबाट पानीलाई बाष्पीकरण हुन नदिने र झारपातसमेत उम्रन नपाउने यो प्रविधिले सफलता पाउने देखिएको छ।

पोलीमोरको स्प्रेले जमिनमा एउटा कोट कायम गर्ने र त्यसले पानीलाई बाष्पीकरण हुन नदिनुका साथै झारपातसमेत उम्रन नदिने हुनाले यसलाई ‘स्प्रेयबल मल्च’को नाम दिइएको राजुले सेतोपाटीसँग भने। यो पोलिमर प्रयोग भइसकेपछि आफैं माटोमा मिल्ने र यसले नोक्सानसमेत नगर्ने उनको दाबी छ।

यो विशुद्ध वैज्ञानिक राजुको आफ्नै आविष्कार हो।

विश्वको जनसंख्या जुन रूपमा बढेको छ र यसरि बढेको जनसंख्यालाई कसरि खाद्यान्न पुर्‍याउने भन्ने अहिलेको ठूलो चुनौती हो। यसैले पनि थोरै पानी र रासायनिक मलको प्रयोग गरी सिमित जमीनमा उत्पादन बढाउन सकिने र स्वस्थ्यलगाएत अन्य कुरामा असर नपर्ने पोलिफेलिन भनिने रसायनमा आधारित पदार्थ विश्वभरि नै किसानहरुले प्रयोग गर्न थालेका छन्।

यसबाट माटोमा रहेको पानीको ह्रास कम हुने र झारपातको वृद्धिमा पनि नियन्त्रण हुने अनुसन्धानमा रहेका वैज्ञानिकहरुले बताएका छन्। अधिकारीका अनुसार फलफूल तथा नगदे बालीको उत्पादन बढाउन यो प्रविधि अबको विश्वको लागि निकै उपयोगी हुनेछ।

कैयौं वर्षको अनुसन्धान पछि मात्र कृषिमा प्रयोगका लागि ट्रान्सपिरेशनल भनिने यो प्रविधिको विकास गरिएको पनि डा. अधिकारीले बताए।

रोयल मेलवर्न इन्सिच्यूट अफ टेक्नोलोजी विश्वविद्यालयका एशोसिएट्स प्रोफेसरसमेत रहेका सरल स्वभावका अधिकारीको २८ वर्षे वैज्ञानिक जीवनमा सफलताका थुप्रै कथाहरू जोडिएका छन्।

उनले कृषिमा आधारित पोलिमर प्रविधिको कयौं नयाँ र नौला प्रविधि विकास गरेका छन्। विज्ञानका चमत्कार जोडिएका दर्जनौं पुरस्कार र स्याब्बासीका प्रमाणबीच गैरआवासीय नेपाली संघ एनआरएनएको सीप, ज्ञान तथा आविष्कार समितिका संयोजकसमेत रहेका अधिकारी भन्छन् , ‘कर्मथलोको लागि धेरै गरियो, त्यसैले पनि मुलुकका लागि केहि गर्न सकिन्छ कि भनेर गैर आवासीय नेपाली संघका होमिएको छु।’

दुर्घटना वा अन्य कारण शरीर अंग भंग हुँदाँ प्रयोग गरिने मेटलले शरीरलाई पीडा दिइरहने र दिर्घकालिन फाइदा नपुग्ने भएकोले विस्तारै वैज्ञानिकहरू पोलिमरबाट कृतिम मानव अंगको विकासमा समेत लागेका छन्।

सन् १९८६ मा भारतको दिल्ली विश्वबिद्यालयबाट अर्गानिक केमेष्ट्रीमा पीएचडी गरेपछि नेपाल आएर अधिकारीले करिब चार वर्ष आफ्नो क्षेत्रमा हात बढाए।

केन्द्रिय अनुसन्धान प्रयोगशालाको प्रमुख भएर डा राजुले मुलुकको सेवा गरे। त्यतिबेलाको रोनाष्टमा हड्ताल र बन्दले आजित भएका डा राजु त्यसपछि अस्ट्रेलिया हानिए।

सन् १९९२ मा सीसीरोमा पोष्ट डक फेलोका रूपमा अस्ट्रेलिया आएका डा राजुले त्यसपछि लगातार आफ्नो अध्यन र अनुसन्धानलाई अगाडि बढाइरहेका छन्। वैज्ञानिक राजु भन्छन्, ‘नयाँ नेपालको नारा लगाएको लामो समय भइसके पनि विज्ञान तथा प्रविधिमा भने नेपाल पुरानै अवस्थामा छ। यस्तो अवस्थामा डायोस्पोरामा रहेका नेपाली मुलका वैज्ञानिकलाई समेटेर राज्यले केही गर्न सके सुनमा सुगन्ध हुने थियो। त्यसका लागि हामी जतिबेला पनि तयार छौं।’

दाङको मसुरियाका अधिकारी पत्नी सुजन अधिकारी र डाक्टर छोरी समृद्धि अधिकारी तथा छोरा सुरज अधिकारीसँग मेलवर्नमा बसोबास गर्दै आएका छन्।

प्रविधिको विकासमा राज्यको महत्वपूर्ण भूमिका हुनाले यस्तो विषयमा राज्य अगाडि नसरे केही नहुने उनको तर्क छ। ‘आविष्कार नेपालमा पनि हुन्छन्, विज्ञ नेपालमा पनि छन्। तर त्यसमा  उचित लगानी, अनुसन्धान र बजारिकरणको अभावले दक्ष जनशक्ति भए पनि मुलुक पछि परिरहेको छ’, अधिकारीले भने।

(Copied from setopati.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *