Raj Babu Shrestha
Raj Babu Shrestha
कवित
शिर्षक : परिचय हराएको मान्छे म !
१
भ्याकुर, कन्दमूल र गिट्ठा खाई हुर्केको छोरो म !
भेडा बाख्रा र चौरी सँग खेल्दै हुर्केको छोरो म !
बाउ सँगै बछिलाले हलो ताछ्दै हुर्केको छोरो म
डोको बोकी उकालो ओराली गर्दै हुर्केको छोरो म !
२
आमा सुत्केरी हुँदा रातो भाले लखट्दै गर्दा ,
सिस्नो झ्याँङ्गमा परी छट् पटाएको छोरो म !
दुहूना गाई गोठबाट सार्दा बाहिर पालीमा ,
कयौँ पटक गाइको लात खाई हुर्केको छोरो म !
३
जङ्गलको कुशुम र जामुन खाँदै र बेलौती टिप्दै ,
उकाली ओराली गर्दै हुर्केको गाउँले छोरो म !
हलो ,कुटो , कोदाली गर्दै र दाउरा घाँस गर्दै पहरामा ,
अनि खोल्सामा भेडा भाख्रा चराउँदै हुर्केको छोरो म !
४
ओल्लो गाउँ र पल्लो गाउँ गाउँले तरुनीहरु सँग ,
दोहोरी खेल्दै र गोरु जुदाई हुर्केको छोरो म !
सिम्मलको हाँगामा बसेको माहुरी र घारेको मह
काट्दै र हातमा चाट्दै यसरीनै हुर्केको छोरो म !
५
मलाई मेरो गाउँमा , कल्ले पो चिन्दैन होला र ?
डाँडा , काँडा , लेक-बेसी खोल्सा र पहरा
सबैले चिन्दछ मलाई ! पौवा ,पाटी ,पानी ,पँधेरो
र चैतारा सबैले चिन्दछ मलाई ! गोठका भेडा-भाख्रा
गाई भैँसी सबैले चिन्द छ मलाई !
६
ओल्लो गाउँ र पल्लो गाउँ म माईला नभई हुँदैन !
बुड़ाखाड़ा बिरामी भए, मै डोकोमा बोकेर , स्वास्थय
चौकी पुर्याउने गाउँले माइला छोरो म नभई हुँदैन !
मेरो ठाउँमा म कसलाई पो काम लाग्ने छुँईनर !
७
कोही प्रसूति हुन लाग्यो भने , डोकोमा बोकी स्वास्थय
चौकी पुर्याउन , मैं माईला काम लाग्छ त्यो गाउँमा !
छैन गतिला तिघ्रा त्याहाँ उकालो ओरालो गर्ने कसैको,
मेरो गाउँमा म जतिको काम लाग्ने अरु को पो छर ?
८
मेरो त्यहाँ , आफ्नै नाम छ , आफ्नै पहिचान छर परिचय पनि !
घारे माईला भने पछि मेरो गाउँमा कल्लेपो चिन्दैनर मलाई ?
घारे माईला , नाम के त्यत्तिकै बसेको होर ? कति कष्ट गरेको छु ! कति कष्ट मैले ! कति टोकाई , खाईयो ! खाईयो !अरिङ्गाल र बच्छिमको मैले !
९
भेड़ा-भाख्रा खान आउने बाघ र चितुवा सँग-, कति लड़ियो !
लड़ियो ! भालु सँग कति कुस्ती खेलियो ! खेलियो !
के त्यतिकै मेरो नाम , गाउँलेले बाघे माईला राख्या होर ?
बाघे माईला भने पछि , मलाई गाउँमा कल्लेपो चिन्दैनर ?
१०
एक पल्ट गाउँमा , मातिएको साढ़ेले सार्हैनै दुख दिन्थ्यो !
वर पर कोही डरले छेउ पर्दैन थ्यो ,हानी हाल्थ्यो सिंगले !
गाईलाई , कोही साढें लगाउन सक्तैन थ्यो त्यो गाउँमा !
मैं माईला , काम लाग्थ्यो त्यो साढें तह लगाउनलाई !
११
त्यतिकै , मेरो साढें माईला , भनेर नाम राख्या होर गाउँमा ?
कति ठुलो ठुलो नाम छ गाउँमा ! मलाई कल्लेपो चिन्दैनर ?
म भईंन भने , मेरो गाउँनै सुन्य हुन्छ ! डाँडा काँडा सबै रुन्छन् !
डाँफे मुनाल र कोईलि सबै बिलौना गाउँन थाल्छन् त्यहाँ !
१२
तर आज , यो माईलालाई , दुखको भुमरीले घुमाउँदै छ फन् फनी ! जसरि , कुम्हालेले माटोको भाँड़ा बनाउन फन् फनी घुमाउँछ त्यो ठुलो चक्रलाई ! त्यो चक्र चाहेर पनि, आफुलाई रोक्न सक्तैन ! म ठिङ्ग पारी पट्टि उभिएर , एक टकले हेरी बस्छु ! त्यो कुम्हाले र त्यो कुम्हालेको घुम्ने चक्रलाई ! कति ताल मेल मिलेको , उनीहरु दुईटाको ! न कुम्हाले थाक्छ न उसको घुम्ने चक्रनै !
१३
कति अभागी रैछु म ! कोहि छैन मेरो ! पारी बनमा , रुख काट्न बाउ-छोरा सँगै जाँदा , बनमा लागेको डड़ेलोले , बाउलाईनै खाई दिए ! कहाँको रुख काटेर धुरी खामो लेर आउनु र यो माईलाले ! डड़ेको आफ्नो बाऊलाई , काँधमा बोकी रुँदै घर आउनु परेको म कहिले बिर्सिन्न !
१४
मेरो माईली सँग बिहे गर्दा , लागेको ऋण , पल्लो गाउँको , काजी साहेबको , पन्द्र हजार ऋण तिर्न नसकेर , गरा , खेत , पाखा बारी सबै , काजी सहेबलेनै हड़पे ! सुत्केरी ब्यथा लागेकी , मेरी माईलिलाई डोकोमा बोकी , स्वास्थय चौकी लिएर जाँदा , खोल्सोमा खुट्टा चिप्ली , माईली तल खोल्सोमा कता झरी झरी ! अत्तो पत्तै लागेन र खाली डोको मात्रै लिएर आउनु परेको , म कहिले बिर्सिदिन – २
१५
बुढी आमालाई , बाख्रालाई ख्वाउन , हरियो घाँसको स्याउला लिन जाँदा , उतै बाघलेनै मारेछन् ! हे दैब आज , बेसाहारा भएको छु र टुहूरो भएको छु ! त्यसैले , जोती खाने बारी , ति काजी साहेबको पञ्जाबाट फर्काउन , कूल्ली काम गरेर भा पनि धन कमाउन , नेपाल आएँ !
१६
तर आज मलाई , यो नेपाल सहरमा कसैले चिन्दैन, सबैले परिचय खोज्छ ! के नाम हो तेरो भनेर ठाड़ो प्रश्न गर्छन् !
म कतिलाई आफ्नो परिचय दिई दिई हिड्नु , गल्लि गल्लि
म कतिलाई म माईला क्या..म माईला भनेर हिड्नु !
१७
यो सहर साँच्चै मेरो लागि बिरानो रहेछ !यहाँका बाटो,
घाटो, मठ मन्दिर सबै बिरानो रहेछ मेरो लागि !
यहाँ , कसैले चिन्दैन मलाई, पानी सम्म पिउँन पैसा पर्छ !
वहाँ गाउँमा मेरो सलल चिसो सफा ढुंगे धारा बग्छ !
१८
छेलो खेलो पानी जतै ततै पर्दैन पैसा पानी किन्नलाई !
बाटोमा हिड़दा बोलाई बोलाई चिसो मही खाउ भन्छ !
कति दिन भो म आधा पेट खाई , गल्लि भौंतारी हिंडेको !
कसैले बोलाएर माईला खा आइज भनेर भन्दैन मलाई !
१९
मेरो गाउँमा भएको भए, बोलाई बोलाई मलाई ढेंड़ो र
कुरौनी लागेको दुध र मही मनग्गे खान दिन्थे मलाई !
यहाँ कसैले बोलाउँदैनर ख्वाउँदैन मलाई, कस्तो अचम्म !
मत मेरो नेपाल मेरै गाउँ घर जस्तै होला भन् ठानेको थिएँ !
२०
यो कस्तो नेपाल रैछ, यो कस्तो बिरानो ठाउँ, सबै फरक,
मान्छे पनि एकदमै भिन्न, बाटोमा हिड़दा पनि गन्हाउँने !
मेरो गाउँमात बारीको कान्ला खन्दा गन्हाउँथ्यो पसीनाले,
हलो जोत्ता र बाउँसो खन्दा गन्हाउँथ्यो पसीनाले !
२१
ए अचम्म बा …खै के छर्केर हिड़ेका हुन् खै कुन्नी ! ए अचम्म,
न पसीना हुन् न गाइको गउँत् के हुन् कुन्नी क्यारे यस्तो !
काम खोज्न गयो, खै तेरो परिचय पत्र भन्छन् बा मलाई !
तँ भागेर गईस् भने को हुन्छ ? तेरो जिम्मेबार भन्छन् पो मालाई !
गाउँमा हुँदा कसैको एक रुपिया खाइन !
२२
के को परिचय पत्र हुनु र मेरो, अरुको जस्तो ! खै केल्लाई
चाहिय्या हो कुन्नी ! पूरानो नागरिकता थिए मेरा, एकदमै
पूरानो त्यो पनि पानीले भिजेको ! राम्ररी अच्छर्हरु पनि
चिनिदैन थिए! मलाई यति थाहा छ , म नेपाली हुँ र म माईला हुँ !
२३
यहाँत , कुल्ली काम गर्न पनि परिचय पत्र चाहीँनेरे ए बाबा?
त्यस्का बाजे , सबै चिजको संघ र युनियनरे ए मेरी बास्सै !
मेरो गाउँमा खै केही चाहिंदैन, कति गोरु लड़ाईयो लाड़ाईयो,
खै कहिले कसैले केही माग्दैन थे, माईला भने पछि पुग्थ्यो !
कति भारि बोकियो बोकियो ! कसैले प्रमाण पत्र मागेन म
सँग , भारि बोक्नेको परिचय पत्र हुनु पर्छ भनेर !
२४
यहाँ , म कतिलाई बाघे माईला क्या…बाघे माईला भनी हिड्नु !
मेरो गाउँमा, बाघे माईला भने पछि म हिड्ने बाटो छोडी हिड़थ्यो ! म आफुलाई एकदमै शेर भन्दा पनि ठुलो सम्झन्थे ठुलो ! तर म आफ्नै देश नेपालमा बिरालो भन्दा पनि सानो पो रैछु ! बिरालो भन्दा पनि सानो !
२५
थुक्क ! मत आफूलाई खूब नेपाली भन्ठाँथे ! भुत्रो हुनु होइन रैछु ! म त मात्रै गाउँको माईला रछु, बाघे माईला क्या माईला !
मत नेपलको परिचय हराएको मान्छे पो रैछु ! परिचय हराएको !
न यहाँ , मलाई कसैले चिन्छ, न म कसैलाईनै चिन्छु !
२६
मलाई मेरो आफ्नै गाउँ प्यारो छ, आफ्नै गोठ र गरा कान्ला,
कति रोएका होलान् ती देउराली भन्ज्याङ्ग मलाई सम्झी !
कति रोएका होलान् ती ढकमकै भई फुल्ने लाली गुँरास,
मलाई सम्झी, लैलै गाउँदै हिड्थे गुँराशलाई सुनाई सुनाई !
२७
कस्तो अचम्मको यो देश मेरो ! डाँफे राष्ट्रिय पंछिरे तर म को हुँत ? अनि गाई राष्ट्रिय जनाबार रे बरु यिनीहरुको छ परिचय !
तर खैत उनीहरुलाई राष्ट्रको हुनलाई परिचय पत्र परेन !
तर मलाई , पाईलैई पिच्छे परिचय पत्र मागें, खै किन कुन्नी!
मेरो शिरमा , ढाका टोपी र दौरा सुरुवाल लगाएर अनि कम्मर मा शिरुपाते खुकुरी भिरे पछि , बिदेशमा पनि बीर गोर्खाली भनेर चिनिन्छ अरे तर खैत मलाई चिनेको ? मलाई आफ्नै नेपालको सहरमा चिनेन कसैले !
२८
त्यसैले, म परिचय हराएको माईला, घारे माईला क्या,
घारे माईला ! गाउँको डोको बोक्ने माईला क्या डोको बोक्ने !
म परिचय हराएको मान्छे ! आखिरी म को हुँ त यो देशको ?
जस्ले शिरमा ढाका टोपी लाउन जानेर कहिलेई बिर्सेन !
२९
जस्ले दउरा सुरुवाल र कम्मरमा शिरुपाते खुकुरी भिर्न
कहिलेई बिर्सेन ! आखिरी म यो देशको को हुँ त, खैत परिचय मेरो ? जस्ले देशको राष्ट्रिय खाना गुन्द्रुक र ढेंड़ो खाएर हुर्के,
आखिरी म यो देशको को हुँ त? मात्र परिचय हराएको मान्छे!
मात्र परिचय हराएको मान्छे हुँ म, मात्र परिचय हराएको मान्छे हुँ म!
म मात्र परिचय हराएको मान्छे ! म मात्र परिचय हराएको मान्छे !
राजबाबु श्रेष्ठ
महोत्तरी, गौशाला, नगरपालिका वार्ड नम्बर १
हाल : भक्तपुर , नयाँ बस्ति , नयाँ थिमी !
