क्यूआर कोडबाट हुने भुक्तानीमा अन्तरआबद्धता हुने
थप सामग्री

नेपाल राष्ट्र ब्यांकले सबै भुक्तानी सेवाप्रदायकबीच एकबाट अर्कोमा कारोबार (अन्तरआबद्धता) गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र ब्यांकले ‘नेपाल क्यूआर स्ट्यान्डराइजेसन फ्रेमवर्क एन्ड गाइडलाइन्स’ तयार पारेर एउटा ब्यांक तथा भुक्तानी सेवाप्रदायकबाट अर्कोमा कारोबार गर्न मिल्ने व्यवस्था गरेको हाे।

राष्ट्र ब्यांकले भुक्तानी सेवा विभागबाट जारी गरेको क्यूआर कोडसम्बन्धी गाइडलाइन्स अनुसार अब भुक्तानी सेवाप्रदायकले एउटा ब्यांकको मोबाइल ब्यांकिङ वा भुक्तानी सेवा सञ्चालकको वालेटबाट अर्कोमा सजिलै कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र ब्यांकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल एउटा क्यूआर कोडको नेटवर्कमा अर्कोले भुक्तानी गर्न नमिल्ने गुनासोलाई सम्बोधन गर्न र डिजिटल भुक्तानीलाई सहजीकरण गर्नेकै लागि अन्तरआबद्धताको व्यवस्था गरेको बताउँछन्।

कँडेलले क्यूआर कोड फ्रेमवर्क र गाइडलाइन्स अनुसार नै सबै भुक्तानी प्रदायक संघ-संस्थाहरूले नेपाल क्यूआर कोड प्रणालीभित्र आएर कारोबार गर्नुपर्ने बताए। सेवाप्रदायकले १७ फागुनबाट नै एक-अर्काको नेटवर्क प्रयोग गर्न अन्तरआबद्धता हुनुपर्ने राष्ट्र ब्यांकले जनाएकाे छ।

कुनै सेवाप्रदायकबीच कुनै प्राविधिक समस्या भए तुरुन्त मिलाएर जानुपर्ने व्यवस्था पनि गरिएको कार्यकारी निर्देशक कँडेल बताउँछन्। यस्तो सुविधापछि कुनै ग्राहकले खल्ती वालेटबाट ई–सेवामा र ई–सेवाबाट खल्ती वा अन्य कुनै सेवाप्रदायकसँग हुने भुक्तानी सहजै गर्न सक्छन्।
याे पनि पढ्नुस :
क्यूआर कोडबाटै तरकारीदेखि सरकारी सेवाको भुक्तानीछाेटाे समयमै फड्को मारेको प्रविधि हो, क्यूआर कोड। उपभोग्य सामान खरिद गर्दा होस् कि सरकारी सेवाको भुक्तानी गर्दा होस् क्यूआर काेडले दैनिकी सहज बनाएकाे…आइतबार, १६ फागुन, २०७७

यस्ताे सुविधा मोबाइल ब्यांकिङ एप प्रयोग गरेर पनि एउटा ब्यांकबाट अर्को नेटवर्क प्रयोग गर्ने ब्यांकमा पनि भुक्तानी गर्न मिल्ने गरी मापदण्ड ल्याइएको राष्ट्र ब्यांक कार्यकारी निर्देशक कँडेल बताउँछन्। उनी भन्छन्, “नयाँ मापदण्ड जारी भएपछि एउटा सेवाप्रदायकबाट अर्कोको सेवा लिन नपाइने र एउटै किराना पसलमा नौ वटा क्यूआर कोडको स्ट्यान्ड झुन्ड्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ।”

कार्यान्वयन कहिले ?
राष्ट्र ब्यांकले क्यूआर कोडको गाइडलाइन्स जारी गरेकै दिनबाट कार्यान्वयन हुने भने पनि चार दिनसम्म व्यावहारिक रूपमा यसको प्रयोग हुन सकेकाे छैन। अझै पनि एउटा सेवाप्रदायकबाट अर्कोमा क्यूआर कोड स्क्यान गरेर भुक्तानी हुन सकेकाे छैन।

युनियन पेका बिजनेस डेभलपमेन्ट म्यानेजर राकेश श्रेष्ठ सम्बन्धित सेवाप्रदायकले नै अन्तरआबद्धतालाई कार्यान्वयन गर्नुपर्ने बताउँछन्। त्यसका लागि एउटा सेवाप्रदायकले अर्कोलाई स्वीकार गरेको अवस्थामा तत्कालै अन्तरआबद्धता कार्यान्वयन हुने उनकाे भनाइ छ।

खल्ती डिजिटलका निर्देशक अमित अग्रवाल पनि कार्यान्वयन गर्न आफूहरू तयार भएको र प्राविधिक रूपमा तयारी अवस्थामा नै रहेको बताउँछन्। अन्तरआबद्धताको कार्यान्वयनको व्यवस्था भने राष्ट्र ब्यांक र नेपाल क्लियरिङ हाउस लिमिटेडको समन्वयमै तय हुनुपर्ने उनकाे भनाइ छ।

फोन पे, नेपाल क्लियरिङ र स्मार्ट क्यूआरसँग समन्वय भएर उनीहरूले स्वीकार गरेपछि तुरुन्तै हुने आईएमई पेका सीईओ विकास नाहटा बताउँछन्।

आईएमईले स्मार्टकै क्यूआर कोडलाई प्रयोग गरिरहेको र फोन पेसँग अन्तरआबद्धता भएको अवस्थामा सेवा थप सहज हुने नाहटा बताउँछन्। यसको कार्यान्वयनमा राष्ट्र ब्यांकले नै कार्यान्वयन मिति तोकेर कडाइ गर्नुपर्ने उनकाे भनाइ छ।
थप सामग्री : https://www.himalkhabar.com/news/122451

(Copied from himalkhabar.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *